सरकार र विप्लवविच वार्ताको तयारी

विप्लवमाथीको प्रतिवन्ध आजै फुकुवा हुने सम्भावना

काठमाण्डौ,सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेकपा विप्लवमाथिको राजनैतिक प्रतिबन्ध फुकुवा गर्ने भएको छ । संभवतः आज सांझसम्म प्रतिवन्ध फुकुवा र दुवै पक्षबाट वार्ता टोलीको घोषणा हुने तयारी रहेको छ ।

बालुवाटार निकट स्रोतले प्रधानमन्त्री केपी ओलीले आज महेन्द्रनगरमा हुने आम सभालाई संवोधन गर्ने क्रममै विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवाको घोषणा गर्ने भएका छन् । त्यस लगत्तै सांझसम्ममा दुवै तर्फबाट वार्ता टोलीको घोषणा गरिने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीले सरकारी वार्ता टोलीको नेतृत्व गर्न गृहमन्त्री रामवहादुर थापा वादललाई प्रस्ताव गरेपनि उनले भने त्यसलाई अस्विकार गरेको बताइन्छ ।

स्रोतका अनुसार वार्ता टोलीको नेतृत्व गर्न अनिच्छुक देखिएका गृहमन्त्री थापाकै प्रस्तावमा त्यो जिम्मेवारी खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई दिन लागिएको छ । पछिल्लो समय उनले नै विप्लव पक्षसंग वार्ताको लागि वातावरण मिलाइरहेको र उनको भूमिका प्रति प्रधानमन्त्री केपी ओली र नेत्र विक्रम चन्द (विप्लव) पनि सकारात्मक रहेकोले सरकारी वार्ता टोलीको नेतृत्व दिन लागिएको बताइएको छ ।

वार्ताको लागि विप्लव समुहको नेतृत्व कस्ले गर्छ भन्ने बारेमा यकिन भै नसके पनि नेता धर्मेन्द्र बाँस्तोलाले त्यो जिम्मेवारी पाउन सक्ने बताइएको छ । हाल नख्खु जेलमा थुनामा रहेका उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् र त्यही आधारमा आजै उनी रिहा हुन सक्ने बताइएको छ । सरकार र विप्लव समुह दुवैले वार्ताको लागि आ–आफ्ना एजेण्डा तयार गरिसकेको बताइएको छ । सरकारले विप्लव समुहलाई हतियारको राजनीति छोडेर शान्तीपूर्ण राजनीति शुरु गर्ने प्रतिवद्धता गरेमा उक्त समुहका नेता कार्यकर्तामाथि लगाइएका सम्पूर्ण मुद्धाहरु फिर्ता गर्ने, शहीद तथा वेपत्ता परिवारलाई क्षतिपूर्ती दिने लगायतका एजेण्डा तय गरेको बताइएको छ ।

त्यस्तै विप्लव समुहले भने संसदीय व्यवस्थाको विकल्पमा जनवादी जनगणतन्त्रको लागि जनमत संग्रहमा जाने विषयलाई वार्ताको प्रमुख एजेन्डा तय गरेको बताइएको छ । ‘अनौपचारिकरुपमा भएका संवादहरुले धेरै कुरा मिलिसकेको छ, केही प्राविधिक कुरा मिलाउन र औपचारिक रुपमा सम्झौता गर्न वार्ता समिति बनाउन लागिएको हो । दुवै पक्षबीच निकै गहन आन्तरिक तयारी र पूर्व वार्ताहरु भएकोले यो वार्ता धेरै लामो समय जांदैन, छिटै सहमतीमा टुंगिन्छ’ प्रधानमन्त्री ओली निकट एक नेताले जनतापाटीसंग भने ।