विप्लव सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन परेन : प्रधानमन्त्री ओलि

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन नपरेको आरोप लगाएका छन् ।

फाइल तस्वीर

पाँचौं इन्द्रदह पर्यटन उत्सवलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव नेकपाले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयलाई आतंक छाएको बताएका हुन् । विप्लव नेकपाले वार्ता गर्ने भएपछि उक्त पार्टीलाई प्रयोग गर्न चाहनेहरुमा छट्पटी भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

पृथकतावादको कुरा गरिरहेको सीके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँदा पनि अरुलाई छट्पटी भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, “हतियार उठाइरहेका, व्यवस्थाका विरोध गरिरहेका महासचिव विप्लवले सरकारसँग वार्ता गर्छौं हामी, वार्ता गरेर समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेछन् । कतिपयलाई आतंक छायो । विप्लवलाई प्रयोग गरुँला कि भनेको त वार्ता गरेर समस्या समाधान गर्छु पो भन्न थाले देश त साँच्चै हरेक हिसाबले अगाडि बढ्छ कि क्या हो, पृथकतावादको कुरा गरिरहेको सीके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँछु भने । अब विप्लव वार्ता गर्छु भन्दै छन् । केहीलाई छट्पटी भएको छ ।”

उनले देश, जनता र विकासप्रति इमानदार भई योगदान गर्नुपर्ने पनि बताए । राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने भन्दै चुनावी अभियानमा जुट्न पनि आग्रह गरे ।