प्रचण्ड-माधव समूहको संगठनात्मक संरचनामा बराबर

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि दुवै समूहले तल्लो तहसम्म सङ्गठनात्मक संरचना निर्माणमा तीव्रता दिएका छन्। विभाजित नेकपाको अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच सङ्गठनात्मक संरचना पूरा गर्नका लागि सहमति बनेको हो।

फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति पत्र बनेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए। ‘केन्द्रीय कमिटीको बैठकमा छलफल भएको थियो। त्यही अनुसार सङ्गठनात्मक संरचना तयार गर्नका लागि ९ बुँदे सहमति बनेको छ’ उनले भने।

प्रचण्ड–माधव पक्षको सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह इन्चार्ज एवं पार्टी कमिटीहरु तथा जन संगठनका पदाधिकारीहरूमा रिक्त स्थानमा आधारआधा हुनेगरी मिलाउने सहमति बनेको छ।पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका तहमा पनि ५०र५० प्रतिशत हुनेगरी मिलाउने भएको छ। पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जन संगठनमा वरीयतामा अगाडि रहेकालाई प्राथमिकता दिने भएको छ।

एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा वरीयताको आधारमा जिम्मेवारी दिनुपर्ने दिने भएको छ। पार्टीका सबै कामहरु तोकिएको मापदण्ड र आधारमा टुंगाउने सहमति बनेको छ।