संविधान जोगाउन अदालत खोजिएको एमिकस क्युरीको राय

काठमाडौँ,प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा आजबाट एमिकस क्युरीले राय दिँदैछ ।एमिकस क्युरीका तर्फबाट पहिलो बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान रक्षाका लागि अदालतको सहारा खोजिएको बताएका छन् ।

संविधानको रक्षा गर्नुपर्ने राजनीतिक दलहरू नै आन्दोलनमा लागिरहेकाले संविधान रक्षा हुन नसकेको तर्क राख्दै अधिवक्ता कार्कीले अहिले अदालतको सहारा खोजिएको बताएका छन् । यसमा अल्मलिनुपर्ने कारण नभएको उनको भनाई रहेको थियो ।एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता कार्कीका साथै विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।