ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विरोध छनः प्रचण्ड

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोधमा भएको बताएका छन् ।मंगलबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली पक्षका ९० प्रतिशत सांसद विघटनको विरोध रहेको र गुटका कारण बोल्न नसकेको बताएका हुन् ।

‘केपीजी पक्षका ९० प्रतिशत सांसद विघटनको विरुद्धमा छन्, गुटमा भएकाले बोल्न केही समस्या भएको हो’ उनले भने ।यस्तै, अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त आन्दोलनमा जाने विषयमा छलफल भइरहेको पनि बताएका छन् । ‘आन्दोलन भइराखेको छ। यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ। हिजो मैले यसलाई संयुक्त बनाऔं भनेर शेरबहादुर देउवासँग कुरा गरेँ ।

जसपाका नेताहरूसँग पनि कुरा गरिराखेकै छु । केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ’ उनले भने ।आफू शान्तिपूर्ण राजनीति गर्न प्रतिबद्ध रहेको बताउँदै उनले संसद पुनःस्थापना हुनेमा पूर्ण विश्वस्त रहेको पनि बताए ।