प्रतिनिधिसभा विघटन मुद्दाः आजदेखि एमीकस क्युरीको बहस

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि अदालतका सहयोगी (एमीकस क्युरी) को बहस सुरु हुँदैछ।पक्ष र विपक्षको बहस तथा १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएपछि आजदेखि एमिकस क्यूरीले बहस गर्न लागेका हुन्।

सर्वोच्चको आदेशअनुसार नेपाल बार र सर्वोच्च अदालत बार एशोसियसनले पाँच जना एमिकस क्युरी सिफारिस गरेको थियो। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक छन्। उनीहरुले रिट निवेदनका विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्नेगरी स्वतन्त्र विचार दिनेछन्।

एमीकस क्युरीको बहस सकिएपछि अदालतले निर्णय दिनेछ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ।