आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो राजनीतिक दललाई

काठमाडौं,निर्वाचन आयोगले आगामी चुनावको बारेमा छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ। चुनावको बारेमा दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिएका छन्।

श्रेष्ठले भने ‘हामीले संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई छलफलका लागि विहान ११ बजे बोलाएका छौं, आयोगले निर्वाचन आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्नेछ।’ सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनावको घोषणा गरेको छ।आयोगले आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ। सोही मस्यौदामा रहेर दलका प्रतिनिधिहरुसँग सुझाव लिन लागेको हो। दलको सुझावपछि आयोगले आचारसंहिताबारे निर्णय गर्ने श्रेष्ठले जानकारी दिए।

आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ। निर्वाचन आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ।निर्वाचन खर्चसम्बन्धी आचारसंहितामा दलको विधानबमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने आयोगको प्रस्ताव छ।त्यस्तै, पाँच हजारभन्दा बढी चन्दा लिनुपर्ने भए बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने गरी आयोगले मस्यौदा बनाएको छ।