रिहाइपछि झाँक्रीले भनिन्- हामी जित्दैछौं, प्रतिगमन झुक्दैछ

काठमाडौँ, प्रहरी हिरासतबाट रिहा भएकी  नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् ।

प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।

उनले भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’ महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उनलाई पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरिएको छ ।

प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् ।