बाँके प्रहरीको सफलता ; मोटरसाईकल चोर्ने ठूलो गिरोह फन्दामा
नेपालगन्ज, बाँके प्रहरीले ठुलो सफलता हात पारेको छ । पछिल्लो समयमा बाँके जिल्लाका बिभिन्न स्थानबाट मोटरसाईकल चोरी हुन थालेपछि बाँके प्रहरीले मोटरसाईकल चोरको गिरोह समात्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार पत्रकार सम्मेलन गरि चोर र चोरी गरिएका मोटरसाईकल समेत प्रहरीले सार्वजनिक गरेको छ । मोटरसाईकल चोरमाथि कडा निगरानी बढाएको बाँके प्रहरीले नेपालगन्जका पेशेवार चोरहरूलाई समात्न सफल बनेको हाे ।
बाँकेका विभिन्न क्षेत्रबाट चोरि भएका मोटरसाईकल जिल्लाका विभिन्न ग्यारेज र शम्सेरगञ्ज तथा ढकेरीको जङ्गलमा लुकाएर राख्ने र त्यसको पार्टपुर्जा परिर्वतन गरि छिमेकी जिल्ला पैठारी भएको प्रहरीले सुराक पायो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भने –‘मोटरसाईकल चोरमाथि निगरानी बढाउँदै जाँदा चोरको गिरोहलाई नै समात्न सफल भएका छौं ।’ उनले अगाडी थपे–‘नेपालगन्ज र आसपासका क्षेत्रबाट चोरी भएका मोटरसाईकल दाङ, भालुवाङ्ग, प्यूठान, रोल्पा, जाजरकोट लगायतका पहाडी जिल्लामा पैठारी हुने गरेको पाइयो ।’ उनले भने–‘चोरी भएको मोटरसाईकल र चोरको पहिचान गर्दै जाँदा ६ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गर्न सफल भएका छौं ।’
प्रहरीले पक्राउ गरेको चोर गिरोहमा मोटरसाईकल बनाउने मिस्त्रि, किराना पसल सञ्चालन गरेका ब्यक्ति तथा बैदेशिक रोजगारीबाट फर्केका ब्यक्ति संलग्न रहेको पाइएको छ । प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरी निवासी ३५ वर्षिय राम बहादुर थापालाई नेपालगन्जको धम्बोझीबाट, जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ११ कालिखोली घर भएका हाल नेपालगन्ज ४ बसपार्कमा किराना पसल सञ्चालन गरिरहेका ३१ वर्षिय धिरेन्द्रविक्रम शाहीलाई नेपालगन्ज १ बाट, दाङ गढवा गाउँपालिका वडा नम्बर ४ खड्कपुर निवासी २८ वर्षिय समिर भनिने ईरसाद अहमद मसलमानलाई प्यूठानको दरभानबाट, रोल्पा लुग्री गाउँपालिका वडा नम्बर १ पाङ निवासी जिपरकार भाडामा चलाउने चालक २८ वर्षिय छविलाल पुनमगरलाई दाङ भालुवाङबाट, रोल्पा लुग्री गाउँपालिका वडा नम्बर ५ गम्चाल बस्ने बैदेशिक रोजगारबाट फर्केका २४ वर्षिय नवराज कोरा क्षेत्रीलाई दाङ भालुवाङबाट र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० सुगन्धटोल बस्ने मोटरसाईकल मिस्त्री समेत रहेका २८ वर्षिय रञ्जित शर्मालाई प्युठान चेरनेटाबाट पक्राउ गर्न सफल भएको हो ।
मोटरसाईकल चोरको गिरोहलाई विभिन्न क्षेत्रबाट बाँके प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा मोटरसाईकल चोरीमा संलग्न अन्य समेत एकपछि अर्को गरि पक्राउ परेका हुन् । प्रहरीको अनुसन्धानबाट राम बहादुर थापाले विगतमा भारतीय नागरिकसंग मिली चोरीका मोटरसाईकल आफुले खरिद गर्ने र खरिद मूल्यमा नाफा खाई अन्य व्यक्तिलाई बेच्ने गरेको पाइएको छ ।