शिक्षकलाई खोप लगाउने तयारी

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ ।

मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो ।यसअघि नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सनलगायत संस्थाले शिक्षकहरुलाई कोभिड खोप लगाउन आग्रह गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

महासङ्घका अध्यक्ष बाबुराम थापा, प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका थिए ।खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरिसकेको छ ।