दोस्रो चरणको खोप अभियान आजबाटशुरु हुँदै

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीले पाउने

काठमाडौँ,कोरोना विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ ।पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको हो ।

दोस्रो चरणमा भने सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ।जसअनुसार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरूद्धको खोप दिइने छ ।

अग्रपंक्तितमा खटिने पत्रकारलाई आजबाट नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट खोप दिइने छ । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा भारत सरकारले उपलब्ध गराएको १० लाख डोजको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।