राष्ट्रिय महिला लिगमा आजदेखि दोस्रो चरणका खेल

काठमाडौँ, राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् ।

दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ ।आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ ।

जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ । जारी महिला लिगको पहिलो चरणसम्म साविक विजेता एपीएफ अपराजित रहेको छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौथो स्थानमा रहेको छ । वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ र ३ अंक जोडेको चन्द्रपुर छैटौ स्थानमा रहेको छ ।