नेकपा नेताद्वय मातृका यादव र रामचन्द्र झामाथिको प्रहरी आक्रमण नियोजित

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले बिहीबार घोषणा गरिएको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनाबद्ध रुपले आफ्ना नेतालाई मार्न खोजेको आरोप लगाएको छ ।शुक्रबार जनकपुरधाममा प्रचण्ड–नेपाल पक्षका जिल्ला संघर्ष समितीले पत्रकार सम्मेलन गरी पूर्वमन्त्रीद्वय मातृका यादव र रामचन्द्र झामाथि प्रहरीले योजनाबद्ध रुपले आक्रमण गरेको जनाएको हो ।

शान्तिपूर्ण जुलुसमा सरकारको मतियार भएर प्रहरीले पूर्वाग्रही रुपमा ५० औं राउण्ड गोली, आश्रुग्याँस, लाठी र ढुंगा प्रहार गरेको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न समितीले माग राखेको छ ।नेकपा प्रदेश २ संसदीय दलका नेता शत्रुधन मण्डलले केही नेताको हत्या गर्ने उद्देश्यले सरकारको निर्देशनमा प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाएको र लाठी प्रहार गरेको आरोप लगाएका छन् ।

‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको क्रममा प्रहरी एक्कासी जनकपुरधामको शिव चोकमा आएर सुनुयोजित ढंगले स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र नेता रामचन्द्र झालाई मार्ने योजना अनुसार प्रहरीले फायरिङ गरेको हो ।’ मण्डलले भने ।घटनामा संलग्नहरुमाथि तत्काल कारबाही नभए थप कदम चाल्ने संघर्ष समिति धनुषाका संयोजक सुधीर प्रसाद साहले बताए ।

त्यस्तै, केन्द्रीय सदस्य श्रवण यादव बरबरियाले प्रहरीले न्यून संख्यामा रहेका प्रदर्शनकारीमाथि बल प्रयोग गरी योजनावद्ध ढंगले नेता रामचन्द्र र नेता मातृका यादवमाथि हमला गरेको आरोप लगाए ।बिहीवार दिउँसो भएको झडपमा पूर्वमन्त्रीद्वय झा र यादव, शहीदनगरका मेयर उदय बरबरिया, नेताहरु कारिराम साह र प्रदीप साह गम्भीर घाइते भएका छन् । उनीहरुको अहिले काठमाडौंमा उपचार भैरहेको छ ।