काठमाडौंका १६ स्थानबाट ओली पक्षको जुलुस निकाल्ने तयारी

काठमाडौं,नेकपा ओली पक्षले शुक्रबार नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभामा काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ ।सभामा दुई लाख लाख मान्छे उतार्ने तयारी रहेको आयोजक बागमती प्रदेश कमिटीले वताएको छ । मध्यान्हबाट सुरु हुने उक्त सभामा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी रहेको छ ।

आयोजकका अनुसार बागबजारबाट सम्पर्क मञ्च, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनलगायत पेसागत संगठनहरूको जुलुस निस्कनेछ ।महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घन्टाघरबाट मुस्लिम समुदाय तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीको जुलुस सुरु हुने बताइएको छ ।त्यस्तै, त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघर मण्डला क्षेत्रबाट दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट सहभागी हुनेको जुलुस सुरु हुनेछ ।

त्यस्तै, पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट र रसुवा, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि रुट तोकिएको आयोजकले जनाएको छ ।त्यस्तै, टेकुबाट काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोह्रखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको जनाएको छ ।सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्षनेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।