डोल्पामा भारी हिमपात, जुफाल बिमानस्थल ठप्प

डोल्पा, डोल्पामा यो वर्ष पहिलो पटक भारी हिमपात भएको छ । बिहीबार रातिबाट वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू–भाग सेताम्य भएको छ । हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो ।

माघको तेस्रो सातामा मात्रै हिउँ पर्न थालेपछि निरासामा रहेका कृषक भने खुसी भएका छन् । पानी र हिउँ परेपछि केही राहात मिलेको कृषक राजकुमारी बुढाले बताइन् । उनले भनिन्, ‘हिउँदे बाली गहुँ, उवा, चौंलगायतका बाली पूरै सुकेका थिए, अब यो हिमपातले थोरै भए पनि आशा पलाएको छ ।’

धूलो, हावा र रुघाखोकीले आक्रान्त भएका डोल्पाबासी हिमपातसँगै रमाएका छन् । हिउँदको समयमा हिउँ धेरै परेमा वैशाखदेखि बहुमुल्य जटिबुटी यार्सागुम्बा पनि प्रशस्त हुने स्थानीय प्रेमबहादुर लामाले बताए । लामाले भने, ‘यता अन्नबाली लागउन पनि सजिलो। अब पाटनमा यार्सागुम्बा पनि हुन्छ । हिउँ नै कृषकका लागि मल हो जति धेरै हिउँ परे उति कृषकलाइ फाइदा हुन्छ ।’

जिल्लाको करिब ९० प्रतिशत भूभाग हिउँले ढाके पनि समुन्द्र सतहबाट करिब २५ मिटर तलको भू–भागमा भने हिउँ जम्न सकेको छैन । सदरमुकाम दुनै, त्रिपूराकोट,त्रिबेणिलगायतका क्षेत्रमा भने हिउँ जम्न सकेको छैन ।

हिउँदे सिजनको अन्तिमतिर हिउँ परेर तल्लो डोल्पाका स्थानीय उत्साहित भए पनि माथिल्लो डोल्पाका नागरिक भने हिमपातले नाकाबन्दी गरेको छ । करिब ५६ सय मिटर अग्ला पहाडले घेरिएको क्षेत्रमा बस्ती भएको माथिल्लो डोल्पामा भने हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

हिमपात भएसँगै माथिल्लो डोल्पामा स्थानीय घर बाहिर जान कठिन भएको स्थानीय सोनाम फुन्जो गुरुङले जानकारी दिए । उनले भने, ‘अब तल्लो डोल्पा जान र आउन सकिदैन। फागुनको अन्तिम वा चैत्रमा मात्रै बाटो खुल्छ। हामी घरमै बस्न बाध्य भएका छौं ।’ हिमपातका कारण जुफाल बिमानस्थलमा उडान नहुँदा यात्रु बिमानस्थलमै थन्किएका छन् भने पैदल यात्रु प्रभावित भएका छन् । डोल्पाको तामक्रम माइनस १० भन्दामाथि पुगेको छ ।