फागुनबाट लोकतन्त्रविरोधीलाई बढार्ने गरी जनआन्दोलन हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं,  प्रतिगमनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।उनले भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातीलाई बढार्छ ।’

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा सातदोबाटो चोकमा पुगेर कार्यकर्तालाई संयमित रुपमा आमहड्ताल सफल बनाउन अध्यक्ष प्रचण्डले आग्रह गरेका छन् ।सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको जानकारी दिएका छन् । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे आम नागरिकलाई सुसूचित गराउनका लागि पनि सडक आन्दोलन गर्नुपरेको बताएका छन् ।

अहिले लोकतन्त्रविरोधीले लोकतन्त्र आक्रमण गरिरहेको भन्दै अध्यक्ष भने, ‘बन्द नगरी दिए हुन्थ्यो भन्ने नागरिकको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिलेकाँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’ संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताएका ।