प्रहरी र प्रदर्शनकारीबीच झडप, रामचन्द्र झासहित दर्जन कार्यकर्ता घाइते
जनकपुर, नेकपा (दहाल–नेपाल पक्ष) ले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा दाहाल–नेकपा पक्षका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झाको टाउको फुटेको छ ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । प्रहरीले बन्द खुलाउने क्रम भएको झडपमा नेकपा स्थायी कमिटी सदस्य मात्तृका यादवसहित दर्जन बढी कार्यकर्ताघाइते भएका छन् ।
झडपका क्रममा केही गाडीमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले नौं जना प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको जनाएको छ । प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले बन्दकर्तामाथि दमन गरेको भन्दै आक्रोशित बन्दकर्ताले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन् ।