अख्तियारका कार्यवाहक अध्यक्षले राजीनामा दिने

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक अध्यक्ष डा गणेशराज जोशीले राजिनामा दिने भएका छन् । बुधबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजिनामा बुझाउने उनको तयारी रहेको छ ।

आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार राईको मातहतमा बसेर आफुले काम गर्न नसक्ने कारण देखाउँदै उनले राजिनामा दिन लागेको वताएका हुन् । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गरेका थिए । जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजिनामा दिन लागेका हुन् ।

अख्तियार स्रोतका अनुसार मंगलबार नै उनले नयाँ नियुक्ति भएमा बुधबारदेखि नआउने आयोगका उच्च अधिकारीलाई जानकारी गराएका थिए । जोशी र आयोगकी आयुक्त डा सावित्री थापा गुरुङ बुधबार कार्यालय गएका छैनन् । आयुक्त गुरुङले भने राजिनामा दिने÷नदिने तय भइसकेको छैन ।

अख्तियारमा नियुक्त भएका प्रमुख आयुक्त प्रेम कुमार राई, आयुक्तहरु जयबहादुर चन्द र किशोर कुमार सिलवालको बुधबार दिउँसो साढे १२ बजे आयोगमा पदभार ग्रहण गर्ने तयारी छ । बुधबार बिहान उनीहरुले राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ लिइसकेका छन् ।