संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूलाई गराइयो सपथ ग्रहण

काठमाडौँ, संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् । आयोगका अन्य सदस्यहरुलाई भने सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराएका थिए ।

३० मंसिरमा बसेको संवैधानिक परिषद् को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । जसमध्ये आज ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् ।

संसदीय सुनुवाइबिनै पदाधिकारीहरुलाई सपथ गराइएको हो । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने हुन्छ । सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो तर, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने भन्दै केही दिनअघि फिर्ता पठाइदिएका थिए।संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संवैधानिक परिषदबाट सिफारिस भएकाहरूको ४५ दिनसम्म संसदीय सुनुवाइ नभए स्वतः नियुक्ति मानिने व्यवस्था छ।