श्रमिती लिन ससुराली पुगेका बझाङका एक युवा १६ दिन देखि वेपत्ता

ससुराली पक्षको संग्लनता हुनसक्ने आशंका

काठमाडौं, ५ महिनादेखि माइत गएर बसेकी श्रीमतीले लिन आउ भनेपछि घरबाट निस्केर गएका बझाङका लक्ष्मण विक १६ दिनदेखि बेपत्ता छन् । हालसम्मको प्रहरी अनुसन्धानमा लक्ष्मण माघ ४ गते ससुरालीबाट निस्केको बुझिएको छ ।घटनाको प्रकृति हेर्दा रुकुमको नवराज विकको जस्तै देखिन्छ । जसका कारण परिवारका सदस्य त्रासमा छन् । लक्ष्मणका दाई गणेश विकले श्रीमतीले बोलाएर दाङ ससुराली पुगेको र त्यहीँबाट मोबाईल समेत छोडेर बेपत्ता भएको हुनाले घटनामा ससुराली पक्षको संलग्नता भएको हुनसक्ने आशंका व्यक्त गरे । लक्ष्मणको मोबाइल ससुरालीमै भेटिएको छ ।

लक्ष्मणका ससुरालीका अनुसार काठमाडौंमा रहेका लक्ष्मणलाई लक्ष्मणकी श्रीमती गायत्रीले नै लिन आउन भनेर फोन गरेको तर उनी त्यहाँ जाँदा गायत्री माइतीमा नभेटिएपछि फोनमा दुईजनाबिच केही कुरा भनाभन भएपछि लक्ष्मण फोन सोही घर (ससुरालीमा) छोडेर बेपत्ता भएका हुन् ।

लक्ष्मणको ससुराली दाङ, तुल्सीपुर नगरपालिका वडा नम्बर १८ मा हो । विकले १४ महिनाअघि गायत्रीसँग विवाह गरेका थिए।

बिहेपछि ५ महिना बझाङमा बसेर माइती गएकी गायत्री त्यसपछि बझाङ फर्किन नमानेको लक्ष्मणका परिवारको भनाई छ । गायत्रीका माइती कुमार थरका हुन् । विक बेपत्ता भएपछि प्रहरीले यही माघ १३ गते तीन जनालाई नियन्त्रणमा लिएर तारिखमा छोडेको छ ।

लक्ष्मणको खोजी भइरहेको र घटनाक्रमबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । जनआस्था