संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं, संवैधानिक परिषद्को बैठक स्थगन भएको छ । परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएका थिए । तर, केही कारण बैठक साँझ ५ बजे बस्ने गरी सारिएको थियो ।

साँझ बस्ने भनिएको बैठक पनि स्थगन गरिएको छ । अर्को बैठक कहिले बस्ने भनेर निश्चित नभएको स्रोतले जनाएको छ । दुई दिनअघि मात्रै परिषद्को बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरिदिएका थिए ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । गत मंसिर ३० गते प्रधानमन्त्री ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने गरि संवैधानिक परिषद् सम्बन्धि ऐनलाई अध्यादेश मार्फत् संशोधन गरेका थिए।