प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग

काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।मंगलबार बिहान पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड-नेपालसहित वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई चिरामा विभाजन भएको छ । बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने प्रचण्ड-नेपाल पक्षको दाबी छ ।

सो पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने तयारी गरेको छ । दफा ४४ अनुसार कुनै पनि पक्षले केन्द्रीय कमिटीको ४० प्रतिशत सदस्यको हस्ताक्षर र प्रमाणसहितको विवरण आयोगमा पेस गर्दै आधिकारिकता दाबी गर्न सक्छन् ।