संसद् विघटनः सरकारी पक्षको बहस सुरु

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन रिट निवेदनमा आजबाट सरकारी पक्षको बहस सुरु भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा ४ माघदेखि सुरु भएको रिट निवेदक पक्षको सुनुवाइ आइतबार सकिएपछि सरकार पक्षको बहस सुरु भएको हो ।

विघटनको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिलले बहस गर्दै छन्। सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता खरेलले बहस प्रारम्भ गरेका छन् । यस्तै, प्रधानमन्त्रीको तर्फबाट बहस गर्न १७५ जना निजी कानुन व्यवसायीले पनि वकालतनामा बुझाएका छन्।

गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपतिको कार्यालय र सभामुखलाई विपक्षी बनाई सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । निवेदकका तर्फबाट ६३ जनाले बहस गरेका थिए ।