रंगशाला निर्माणका लागि स्टार क्रिकेट २०२१ हुने

काठमाडौं, चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले स्टार क्रिकेट २०२१ आयोजना हुने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीुको पहलमा बनिरहेको उक्त रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले स्टार क्रिकेट २०२१ आयोजना हुन लागेको हो ।रङ्गशालामा आर्थिक सङ्कलनका लागि गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुने ‘स्टार क्रिकेट २०२१’ मा नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेब्रेटी सहभागि हुने भएका छन् ।जसलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतको समेत सहभागिता रहने छ ।२४ माघमा अयोजना हुने खेलबाट उठेको रकम रंगशाला निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।