श्री ५ को सरकार भनेका मन्त्री थापाले मागे माफी

काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् ।शनिबार सुर्खेतमा नेकपा ओली समूहले गरेको भेलामा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री थापाले श्री ५ को सरकार भन्दै सम्बोधन गरेका थिए । नेपाल सरकार भन्नुको सट्टा श्री ५ को सरकार भनि सम्बोधन गरेपछि थापाको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

थापाले भनेका थिए, ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु ।’त्यसको चर्को आलोचना भएपछि आइतबार मन्त्री थापाले सामाजिक सञ्जालमार्फत भूलवश यो शब्द प्रयोग हुन गएको भन्दै माफी मागेका छन् ।

‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ’, मन्त्री थापाले लेखेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु।’