रोनाल्डोमाथि प्रहरी अनुसन्धान

एजेन्सी, इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सिमाना, एक सहरबाट अर्के सहरमा मनोरञ्जन वा बिदा मनाउने अनुमति दिएको छैन । युभेन्ट्सका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यो प्रोटोकल तोडेका छन् । प्रहरीले रोनाल्डोमाथि अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ ।

रोनाल्डो केही दिनअघि आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजको जन्मदिन मनाउन टुरिनभन्दा ९३ माइल टाढा लक्जरी रिसोर्टमा पुगेका थिए । प्रेमिका जर्जिनाको २७औँ जन्मोत्सव भव्य रूपमा मनाउन रोनाल्डो सपरिवार इटालीकै अति नै महँगो भाले डी आओस्टा स्की रिसोर्टमा पुगेको डेलो स्पोर्टस्ले उल्लेख गरेको छ । युभेन्ट्सले खेल समाप्तिको दुई दिनसम्म आफ्ना खेलाडीलाई होटेलबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्था छ ।

गत साता मात्र विश्व फुटबलमा सर्वाधिक ७ सय ६० गोलको विश्वकीर्तिमान स्थापित गरेका रोनाल्डोले एकैपटक दुई नियम तोडेका कारण नै प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अघि बढाइएको डेलो स्पोट्र्स पत्रिकाले जनाएको छ । यसै साता कोपा इटालिया कपमा युभेन्ट्सले स्पालविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा युभेन्ट्स २–० ले विजयी भयो । यस खेलपछि युभेन्ट्सले खेलाडीलाई दुई दिन आराम गर्न भनिएको थियो ।

क्लबको नियमअनुसार दुई दिनको आराम गर्न दिइएको समयमै रोनाल्डो भाले डी आओस्टा रिसोर्टमा पुगेका हुन् । पत्रिकाका अनुसार रोनाल्डोको परिवार दुई दिन होटेलमा बसेको थियो । अझ सरकारले कोभिड–१९ नियन्त्रण गर्न नै विदेशी तथा स्वदेशी नागरिकालाई एक सहरबाट अर्को सहरमा जान प्रतिबन्ध लगाएको अवस्था छ । ‘कोभिड–१९ को महामारी चलिरहँदा १५ फेब्रुअरीसम्म कसैलाई पनि सिमानाबाहिर नजान निर्देशन जारी गरिएको छ इटाली सरकारको निर्देशन यस्तो छ, ‘स्वास्थ्य सुरक्षाकै लागि यो नियम सबैमा लागू हुन्छ ।

यस्तो नियम लागू जारी भएको समयमै रोनाल्डोले फ्रान्सको सिमानानजिकको रिसोर्टमा प्रेमिका जर्जिनाको जन्मदिन मनाउन पुगे । त्यही रिसोर्टमा रोनाल्डोले गत वर्ष पनि जर्जिनाको जन्मदिन मनाएका थिए । त्यहाँ उनीहरूले स्की खेल्नुका साथै होटेलमै भव्य पार्टीको आयोजना गरेको पत्रिकाले बताएको छ । रोनाल्डोले रिसोर्टमा जान स्थानीय प्रशासन तथा क्लबसँग अनुमतिसमेत नलिएको बुझिन्छ ।

सामाजिक सञ्जालमा रोनाल्डो र उनकी प्रेमिकाबीचको फोटो सेयर भएपछि मात्र नियम तोडिएको थाहा पाइएको हो । त्यसपछि मात्र रोनाल्डोमाथि अनुसन्धान अघि बढाइएको हो । वेएन स्पोर्टस् पत्रिकाले रोनाल्डो कारबाहीमा परे कम्तीमा उनले नियमअनुसार चार सय पाउन्ड जरिवाना तिनुपर्ने हुन्छ । रोनाल्डोले युभेन्ट्ससँग प्रतिवर्ष २ करोड ४० लाख पाउन्डको सम्झौता गरेका छन् ।

रोनाल्डोले बुधबार आफ्नो इन्स्टाग्राममा प्रेमिकाको जन्मदिन मनाइरहेको फोटो सेयर गर्दै सबैलाई धन्यवाद दिएका छन् । ‘सबैबाट जन्मदिनको शुभकामना छ, हामी सधैँ माया गरिरहन्छौँ,’ रोनाल्डोले भने, ‘बधाई छ मेरो जीवनलाई ९जर्जिना० ।’ चालू सिजनमा रोनाल्डोले युभेन्ट्सबाट सबै प्रतियोगितामा गरी २० गोल संख्या पु¥याएका छन् । पछिल्लो पाँच खेलमा उनले दुई पटक दुई गोल गरेका छन् ।