निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ

काठमाडौँ,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका छन ।शुक्रबार काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकीर गरे ।

अब मुलुक चुनावमय भैसकेको बताउँदै उनले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको टिप्पणी गरे ।

उनले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहोर्‍याए । उनले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्य आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गरे ।उनले करिब साढे २ वर्षको अवधीमा आफूले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराए ।