पोखरामा घर भत्काउने क्रममा च्यापिएर एकको मृत्यु

पोखरा , पोखरामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१५ पट्नेरीमा तारा थापा मगरको घर भत्काउने क्रममा ब्लकको ढिस्कोले लाग्दा ४२ वर्षीय गोपी आचार्यको मृत्यु भएको हो ।

घर भत्काउने कार्यमा खटिएका उनलाई ब्लकको ढिस्को खसेर च्यापेको प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका आचार्यलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।