कोरोनाविरूद्धको खोप : दोस्रो चरणका लागि खोप खरिद प्रकिया सुरू

काठमाडौँ, सरकारले दोस्रो चरणमा चाहिने कोरोनाविरूद्धको खोप खरिद पक्रिया सुरू गरेको छ ।नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको एक वर्षपछि बुधबार खोप अभियान थालेको सरकारले दोस्रो चरणका लागि आवश्यक खोप खरिद प्रकिया सुरू गरेको हो ।यसका लागि भारतस्थित नेपाली राजदूतावासमार्फत त्यहाँको परराष्ट्र मन्त्रालय र नीति आयोगसँग परामर्श भइरहेको जनाइएको छ ।

नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा दिएको भारतले विक्रीका लागि प्रति मात्रा भारतीय ३०० रूपैयाँसम्म पर्न सक्ने अनुमानित मूल्य प्रस्तुत गरेको स्रोतले जनाएको छ । तर, यसबारे अन्तिम निर्णय भइनसकेकाले मूल्य तलमाथि हुन सक्ने निकट स्रोतले जनाएको छ ।

अहिले खोप लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज दिन पर्नेछ । त्यसबाहेक दोस्रो चरणका लागि १७ प्रतिशत अर्थात ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारीस्वरूप खरिद पक्रिया अघि बढाएको हो ।यसका लागि आवश्यक बजेट व्यवस्था भइसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले बुधबार खोप अभियानका क्रममा खोप खरिदका लागि आवश्यक बजेट व्यवस्था भइसकेको जनाएका थिए ।

पहिलो दिन ९ हजारले लगाए खोप

खोप अभियानको पहिलो दिन बुधबार ९ हजार जनाले खोप लगाएका छन् ।पहिलो चरणको खोप अभियान अन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनसार प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएका थिए।भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा दिएपछि नेपालमा खोप अभियान थालिएको हो ।स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

पहिलो डोजमा ०.५ मिलीलिटर (मिली) खोप प्रदान गरिदैछ । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने खोपविज्ञ डा.झलक शर्मा गौतमले बताए ।खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिइने उनले बताए ।