कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशमा तोकियो संयोजक

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तय गरेको छ । मन्त्रालयले कोरोना खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का लागि डा तारानाथ पोखरेल, प्रदेश २ का लागि डा मदनकुमार उपाध्याय, बागमती प्रदेशका लागि डा गुणराज लोहनी, गण्डकी प्रदेशका लागि प्रा डा जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा विकास देवकोटा, कर्णाली प्रदेशमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकिएको छ ।

भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज बराबरको कोरोना खोप उपलब्ध गराएको थियो । उक्त खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट देशभर खोप अभियान सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।

आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ। प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । खोप लगाउन सुरू गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने बताइएको छ । उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ।

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने छ । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई लगाइने भउको छ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ । सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार जिटुजी, सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ । अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी ,अमेरिका, मोडेर्ना ,अमेरिका, ग्यामेलिया ,रसिया, स्पुतनिक–भी’ ,रसिया र अक्सफोर्ड अक्ट्राजेनिका बेलायत र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।