एमबाप्पेको दुई गोलमा पीएसजीको जित

एजेन्सी, फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित हात पारेको छ । साविक विजेता समेत रहेको पीएसजीले शुक्रबार राति मोन्टपेलियरमाथि ४-० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । यस्तै, नेयमार र माउरो इकार्डीले एक एक गोल गरे ।

खेलको १८ औं मिनेटमा जोनास ओम्लिनले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो । खेलको ३४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । नेयमारले खेलको ६० औं मिनेटमा गोल गर्दा पीएसजीले २-० को अग्रता बनायो । लगत्तै ६१ औं मिनेटमा इकार्डीले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको ६३ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए । जितसँगै पीएसजीले २१ खेलमा ४५ अंक जोडेको छ । पीएसजीले शीर्ष स्थानमा ३ अंकको अग्रता समेत बनाएको छ । मोन्टपेलियर २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।