प्रतिनिधिसभा विघटन मुद्दामा बहस जारी

काठमाडौँ, संसद् विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस सुरू भएको छ । आजको पहिलो बहस रिट निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा आइतबारदेखि बहस भैरहेको छ । इजलासमा वकिललाई बहसको समय पनि तोकिएको छ । एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि बुधबारदेखि बहसका लागि ३० मिनेटको समय तोकिदिएको हो ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई १३ जना अधिवक्ताले रिट दायर गरेका थिए ।