वामदेवको एकता अभियानमा १५५१ केन्द्रिय सदस्य रहने

काठमाण्डौ, पार्टी विभाजनपछि कतै नलागि एकता अभियान संचालन गर्ने घोषणा गरेका वामदेव गौतमले माक्र्सवाद–लेनिनवाद र जनताको वहुदलिय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने स्पष्ट पारेका छन् । त्यही अनुसार तयार पारिएको दस्तावेज छपाईको काम अहिले चलिरहेको छ । एकसाता भित्रै १५५१ जनाको केन्द्रिय कार्यसम्पादन समिति र १२१ देखि १५१ जना सम्मको सचिवालय घोषणा गरिने भएको छ । भोली सुक्रबार नै कार्यसमितिका पदाधिकारीहरु सहितको नामावली घोषणा गर्ने तयारी भैरहे पनि दस्तावेज छपाईको काम नसकिएकोले केही दिन पर धकेलिएको गौतम निकट नेता डि वि कार्कीले जानकारी दिएका छन् ।

अन्तिम संख्या टुंगो लागिसकेको छैन । तर, लगभग त्यतिको संख्यामा रहेर केन्द्रिय कार्यसम्पादन समिति र सचिवालय गठन हुन्छ’ कार्कीको भनाई रहेको छ । उनका अनुसार पेशागत क्षेत्रका कतिपय व्यक्तिहरुसंग छलफल भैरहेकोले अन्तिम निर्णय हुन वांकी छ । ‘विगतमा पार्टीमा सक्रिय रहेर अहिलेको विभाजन प्रकृयाप्रति असन्तुष्ट रहेका नेता कार्यकर्ताहरुलाई समेट्ने हाम्रो प्रयास हो । त्यहीअनुसार विभिन्न प्रवुद्ध व्यक्तित्वहरुसंग कुरा भैरहेको छ’ उनले भने । माक्र्सवाद, लेनिनवाद र जनताको वहुदलिय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा अपनाइएकोले यसमा कस्ता व्यक्तिहरु समावेश हुने भन्ने कुनै अन्योल नरहेको उनको भनाइ छ ।

कार्कीका अनुसार डा युवराज संग्रौला, डा कुमार शर्मा, डा केशवराज खड्का आदी वुद्धिजिवीहरु सचिवालयमै वसेर काम गर्ने टुंगो लागिसकेको छ भने माओवादी खेमाका पूर्व सांसद तथा अधिवक्ता खिमलाल देवकोटा लगायतका व्यक्तित्वहरुसंग छलफल चलिरहेको छ ।एकता अभियानले वडा तहदेखि नै संगठन बनाउने तयारी पनि गरेको छ । त्यहीकारण केन्द्रिय र सचिवालयको संख्या ठूलो हुन पुगेको बताइएको छ । पार्टी नभनेपनि पार्टीकै संरचनाजस्तो समानान्तर संगठन बनाउन लागेकोले गौतमले अर्कै नंया पार्टी बनाउन लागेको चर्चा पनि चलिरहेको छ ।

 तर, गौतम निकट नेता कार्की भने नेकपा माथिदेखि तलसम्मै विभाजनको क्रममा रहेकोले त्यसलाई जोड्ने प्रयासस्वरुप तल्लो तहसम्म संगठन बनाउन वाध्य हुनु परेको बताउंछन् । ‘माथि दिइने दवावले मात्र भएन, हरेक कमिटीहरुमा दवाव सृजना गर्नु पर्यो । त्यही हुनाले कमिटी तलैसम्म विस्तार गर्नु पर्ने भएको हो । राजनीतिक पार्टी बनाउने उद्धेश्य होइन’ उनको भनाई छ ।