प्रधानमन्त्रीको प्रसंग निस्किँदा इजलासमा झोक्किए न्यायाधीश

काठमाडौं, प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको सर्वोच्च अदातलको संवैधानिक इजलासमा न्यायाधीश अनिलकुमार सिन्हा वकालत गरिरहेका अधिवक्तासँग झोक्किएका छन् । बुधबारको बहसका क्रममा रिट निवेदकका तर्फबाट वकालत गरेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसँग न्यायाधीश सिन्हा झोक्किएका हुन् ।

अधिवक्ता न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणको प्रसंग निकालेपछि न्यायाधीश सिन्हा झोक्किएका हुन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुनस्स्थापना हुँदैन भन्दै हिँड्नुभएको छ । अदालतलाई प्रभाव पार्ने गरी, दबाब दिने गरी बोलिरहनुभएको छ, न्यौपानेलाई त्यतिमै रोक्दै सिन्हाले भने, प्रधानमन्त्रीको भाषणले तपाईंलाई प्रभावित गर्छ ?

जवाफमा न्यौपानेले भने, हुन्न श्रीमान ।त्यसो भए उहाँले के बोल्नुभयो भन्ने कुरा होइन, तपाईं आफ्नो कुरा राख्नुस् । उहाँले के बोल्नुभयो भन्ने कुरामा हामी प्रभावित हुँदैनौं । तपाईंको निवेदनका विषयमा बोल्नुस्, हामी त्यसलाई सम्बोधन गर्छौ, न्यायाधीश सिन्हाले झोक्किँदै भने ।अधिवक्ता न्यौपानेले प्रधानमन्त्रीले आफू खुसी संविधानको व्याख्या गरे संविधानवाद नै सकिने बताए।

बुधबार अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देवबहादुर महत र रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले बहस गरेका छन् । प्रत्येक अधिवक्तालाई वकालत गर्न आधा घण्टाको समय तोकिएपछि बहस छोटिन थालेको हो। गत आइतबारदेखि संवैधानिक इजलासमा बहस भइरहेको छ। गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको नयाँ मिति घोषणा गरेकी थिइन्।