इटालियन सिरी ए फुटबलमा एसी मिलानको सहज जित

काठमाडौँ, इटालियन सिरी ए फुटबलमा एसी मिलान सहज जित हात पारेको छ । गएराति भएको खेलमा एसीले काग्लियारीलाई २-०ले पराजित गर्दै आफ्नो लयलाई कायमै राखेको छ ।

खेलको सातौं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै पाहुना टोली एसीलाई सुरुवाती अग्रता दिलाएका थिए । ब्राहिम डियाजमाथि काग्लियारीका ल्याकोजियानिसले फल गरेपछि प्राप्त पेनाल्टीमा इब्राहिमोविचले गोल गरेका हुन् ।त्यसपछि दोस्रो हाफको ५२औं मिनेटमा इब्राहिमोविचले व्यक्तिगत दोस्रो गोल गर्दै एसीलाई २–० को जित दिलाए ।

७४औं मिनेटमा मिलान १० खेलाडीमा समेटियो । एलेक्सीसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गरेका थिए । जितसँगै मिलानले १८ खेलमा ४३ अंकसहित शीर्ष स्थानलाई कायमै राखेको छ । पराजित काग्लियारी १४ अंकसहित १७औं स्थानमा छ ।