फर्कीए कान्छा दाई

फर्कीए कान्छा दाई

हाट बजार भित्र सधै बेखर्चि हुने कान्छा दाई।
शुभ अशुभ कार्यमा झन धेरै बेखर्ची ।
खर्च जोहो गर्न सकेनन् कान्छा दाईले ।
पढे पनि न जागीर खान सके ।
न कुनै व्यापारि बने ।

आफ्नै घर गृहस्थीको कामले ।
सधै बेखर्ची भए कान्छा दाई ।
न साथी भाईले एक दाम पत्ताउने ।
न साहुजीले,न आफन्तले ।
घरमा सबैको बोझ भए कान्छा दाई ।
दोधारमा परे कान्छा दाई ।

अलिकति सपना बोकेर ।
कालो छालासंगै अलिकति ऋण बोकेर ।
हातमा हरियो पासपोर्ट च्यापेर ।
थोरै साहु काढेको बाटो खर्च बोकेर ।
दोबाटोमा भेटिने सबैलाई हात जोड्दै ।
साथी सङ्गीसग बिदा माग्दै ।
ठुलो जहाज चढेँर ।
मुग्लान लागे कान्छा दाई ।

आज फर्कदै छन् त्यही कान्छा दाई ।
एसिको बाकसमा ।
कान्छा दाई संगै धेरै दाईहरु पनि फर्किए।
सुनसान आए कान्छा दाई ।
कान्छा दाईले धेरै बेखर्चिलाई ।
खर्च पुर्याए ।

कान्छा दाईकै पसीनामा नुहाउनेहरु ।
सफा भएर पखालीएका छन् ।
अनि सबै चुप चाप छन् ।
पसिनाको मोलमा ।
कोहि पनि बेखर्ची छैनन् ।

न तोप न सलामीको सम्मान छ ।
न बाजा बजेका छन् ।
न कुनै सङ्गितको आवज छ ।
काँहि कतै परेड चलेन ।
बाटोमा सहिद बनाई देऊ भन्दै ।
टायर पनि जलेन ।

कसैले क्षतीपुर्ति पनि मागेनन् ।
चुपचाप चुपचाप आउनु भयो ।
ठुलो जहाज चढेर ।
बन्द बाकसमा ।

कान्छा दाईले बेखर्चिलाई खर्च पुर्याए ।
तर अब खर्च नचाहिने भयो ।
कान्छा दाई खर्च बिना फर्किए आज ।
एसीको बन्द बाकसमा।
त्यहि एउटा हरियो पासपोर्टसाथमा ।
फर्कियो कान्छा दाई ।

घरमा कहिले नपुग्ने गरि फर्किए कान्छा दाई ।
खर्च हुदा पनि अब खर्च गर्न नसक्ने भए कान्छा दाई ।
तर सबैलाई खर्च पुर्याए कान्छा दाई।