कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको कांग्रेसले आज पनि ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । 

पार्टी सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अनुरोध गरेका छन्। संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ, सभापति देउवाले विज्ञप्तिमा लेखेका छन् पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।

यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। यस्तै, माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमासमेत विरोध प्रदर्शन एवं सभाको आयोजना गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेपछि कांग्रेस आन्दोलित छ। कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि पुनःस्थापनाको मागमा भने अडान लिएको छैन । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला कुर्ने रणनीति कांग्रेसले लिएको छ ।