आचारसंहिताविपरीत न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको खुलासा

काठमाडौँ, झगडियाका कुनै पनि पक्षसँग भेट्न नमिल्ने आचारसंहिताविपरीत सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुल्न आएको छ । संसद् विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेका वेला चार न्यायाधीशले प्रधानमन्त्रीसँग भेटेर छलफलसमेत गरेको खुलेको हो ।

यी चारजनामध्ये दुईजनाले गत २६ पुसमा र दुईजनाले गत २७ पुसमा प्रधानमन्त्रीलाई भेटेको स्रोतले बताएको छ ।यसबारेमा इजलासमा वहसकै क्रममा विघटित संसदकी सांसद शशि श्रेष्ठले उठाएकी थिइन् ।२६ गते दिउँसो न्यायाधीशहरू सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले भेटेका हुन् । कार्की संवैधानिक इजलासबाट हटेका हुन् भने मल्ल पछि राखिएकी न्यायाधीश हुन् ।

त्यसैगरी २७ गते न्यायाधीशहरू दीपककुमार कार्की र मीरा खड्काले भेटेका हुन् । यीमध्ये कार्की वरिष्ठतम् न्यायाधीश हुन् । उनीहरूले साँझ ६ देखि १० को बीचमा प्रधानमन्त्रीसँग भेटेको स्रोतले जनाएको छ ।