बयलगाडासहित ओलीबिरुद्ध नेपालगञ्जमा प्रदर्शन

बाँके, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड माधव समूहले शुक्रबार नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको छ ।

केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत संविधान बुझाउने रहेपनि बाँकेमा नेकपाका नेता कार्यकर्ताहरुले बयलगाडासहित प्रदर्शन गरेका छन् ।

नेपालगन्जको विपी चोकबाट सुरु भएको बयलगाडासहितको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बाँके सम्म पुगेको थियो ।नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज, जिल्ला अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइराला लगायतका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो । प्रदर्शनमा प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै चर्को नाराबाजी भएको थियो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा विरोध पत्रसहित संविधानको पुस्तक प्रधानमन्त्री ओलीलाई जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत पठाइएको नेकपा बाँकेका कार्यालय सदस्य अमिर केसीले बताएका छन् ।