क्रस दुवाथलन शनिबार टोखामा हुने

काठमाडौँ, नेपाल ट्राईयाथलन संघको आयोजनमा २५ गते शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । कोभिड १९ ले बिश्वलाईनै आक्रान्त बनाईरहेको अवस्थामा नेपालमा खेलकुदले गति लिने संकेत दिएको छ । नेपाल ट्राईयाथलन संघले कोभिडबाट अक्रान्त रहेको अवस्थामा स्थानिय ब्यक्तिहरुलाई क्रियासिल गर्दै खेल मार्फत खेलाडीहरुको रोग संग लड्न सक्ने क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले च्यालेन्ज आयोजना गर्न लागिएको हो ।

अहिले ट्राईयाथलन संग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्रार्थमिकतामा राखेर च्यालेन्ज आयोजना गर्न लागेको हो । यो च्यालेन्ज काठमाण्डौको टोखा, किर्तिपुर र ललितपुर गरि तीन स्थानमा पाक्षिक रुपमा एक स्थानमा दुई दुई पटक स्थानिय निकाय संग समन्वय गरि आयोजना गर्ने र अन्य स्थानमा पनि खेलस्थलको निरिक्षण पश्चात च्यालेन्ज आयोजना गर्ने संघले जनाएको छ । यस च्यालेन्जले लामो समयका लागि खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई खेल प्रति उत्साहित गर्न मद्धत मिल्ने संघले जनाएको छ ।

संघले उपत्यका बाहिरका स्थानलाई महत्वमा राख्दै स्थानिय खेलाडी उत्पादन, प्रचार प्रसारमा नआएका स्थानलाई उजागर गर्दै आन्तरिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै प्रतियोगिताहरु आयोजना गर्दै जाने लक्ष राखेको छ । ट्राईयाथलनको विधाहरु मध्ये क्रस दुवाथलन पनि एक हो । क्रस दुवाथलनमा २.५ कि.मि. दौड,१० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड हुने संघका महासचिव एवं ट्राईयाथलनका बिज्ञ युवराज सुनुवारले जनाएका छन् । च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो सहर टोखाको गणेशस्थान देखि चन्डेस्वरी सम्मको स्थानमा आयोजना हुने आयोजकले जनाएका छन् ।

च्यालेन्जलाई जम्प नेशनले सहयोग गर्न सक्ने संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताएका छन् । जम्प नेशनसंग च्यालेन्जलाई सहयोग गर्ने बिषयमा बार्ता भईरहेको छ । कोभिडको कारण प्रतियोगिताहरु नभईरहेको अवस्थामा खेलकुदलाई क्रियासिल बनाउनुका साथै कोभिडबाट बच्न ब्यक्तिहरुमा रोग संग लडन सक्ने क्षमता उत्पादन गर्न समेत यसले सहयोग पुग्नेछ अध्यक्ष श्रेष्ठले बताए ।