फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

काठमाडौँ, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड– १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ ।

बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमतिसहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानडा र युरोपेली संघमा आबद्ध मुलुकसहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । कोरोना भाइरसविरुद्ध आपतकालीन प्रयोगका लागि डब्ल्युएचओबाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । 

डब्ल्युएचओका वरिष्ट अधिकृत म्यारिएन्जेला सिमाओले फाइजरको खोपले अनुमति प्राप्त गर्नु निकै सकारात्मक कदम भएको र यसबाट विश्वका अन्य मुलुकले पनि यस खोपमा सहज पहुँच हासिल गर्ने विश्वास व्यक्त बताए । डब्ल्युएचओका अनुसार युनिसेफजस्ता मानवीय सहायता निकायहरूले फाइजरका खोप खरिद गरेर अति जरुरी परेका मुलुकमा आपूर्ति गर्न पनि यसले बाटो खोलेको छ ।

फाइजर–बायोएनटेकले विकास गरेको खोपको सुरक्षा, प्रभावकारिता र गुणस्तर जाँच गर्न डब्ल्युएचओले विश्वभरबाट तथ्यांक संकलन गरी विश्लेषण गरेको थियो । विज्ञहरूको टोलीले गरेको अध्ययनमा कोभिड– १९ बाट सिर्जना हुने जोखिम न्यून गर्न फाइजरका खोप निकै प्रभावकारी देखिएको डब्ल्युएचओले जनाएको छ ।