नेकपा विभाजन गर्न प्रतिगामीले तीनवटा रणनीति बनाएका छनः गृहमन्त्री बादल

काठमाडौं, गृहमन्त्री एवं नेकपा नेता रामबहादुर थापा बादलले नेपालमा राजनीतिक स्थिरता हुन नदिन प्रतिगामी शक्तिले नेकपा विभाजनको षड्यन्त्र रचेको जनाएका छन् । शुक्रबार ललितपुरको लगनखेलमा आयोजित ललितपुर महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले यस्तो बताएका हुन्। नेकपा विभाजन गर्न प्रतिगामी शक्तिले तीनवटा रणनीति बनाएको उनको दावी रहेको छ ।

प्रतिगमनका लागि नेकपालाई कसरी विभाजन गर्ने भन्ने कुरा हामीले कम्युनिस्ट आन्दोलन एकताबद्ध गरेदेखि षड्यन्त्र शुरू गरेको देखिन्छ । स्थिर सरकार बनाएदेखि मुलुकमा अस्थिरता कसरी पैदा गर्ने भन्ने देखिन्छ । नेकपा विभाजन गर्न, अन्तरविरोध, असन्तुष्टि, कमजोरीलाई सुक्ष्म रूपमा अध्ययन गरेको देखिन्छ ।

नेता बादलले आफूहरु फुट र गुटको पक्षमा नभएर स्थायित्व र समृद्धिको पक्षमा रहेको बताए। अहिले राष्ट्रको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने निर्णय गर्ने बेला भएकोसमेत बताएका छन्।हामी फुट र गुटको पक्षमा होइन, हामी पार्टीको पक्षमा उभिएका छौँ। हामीले गुटको प्रतिवाद गरेका छौँ। हामी स्थायित्वको पक्ष र अस्थिरताको प्रतिवादको निमित्त लामबद्ध भएका छौँ।

हामी समृद्धिको पक्षमा उभिएका छौँ’ बादलले भने हामी राष्ट्रियताको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने आफ्नो स्थिति सिर्जना गर्न भेला भएका छौँ। त्यस्तै बादलले पार्टी विभाजनमा विदेशी शक्तिको खेल रहेको भन्दै नेकपाको विभाजित समूहलाई एकतावद्ध गरेर अगाडि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन्।