प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैनः सभामुख सापकोटा

काठमाडौं, सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतमा विचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी गरेका छन्। उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभा विघटनविरुद्ध उनको ध्यानाकर्षण गराउन गएका बिभिन्न महिला संघका प्रतिनिधिहरुसँगको भेटमा सापकोटाले सो धारणा राखेका हुन्।‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । सभामुख सापकोटाले भने, मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु ।

संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितमा सधैं समर्पित हुने पनि उनले बताए ।अखिल नेपाल महिला संघ अनेमसंघ०की संयोजक अमृता थापा, समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुन र विवेककशील–साझा महिला संघकी अध्यक्ष समीक्ष बाँस्कोटाले सो ध्यानाकर्षणपत्र बुझाएका थिए।