प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् । मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूहमा रहेका शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने नेकपा संस्थापन पक्ष अध्यक्षद्वय प्रचण्ड नेपालमा ४० भन्दा बढी सांसद छन् ।

मुख्यमन्त्री शेरधन राईले शनिबार अर्थमन्त्री आङ्बोलाई पदमुक्त गरेका थिए । यसैबीच आज सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन्।