आज विश्वभर क्रिसमस डे मनाइँदै

काठमाडौँ, आज प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाउँछन् । तर, पछिल्लोसमय यस पर्वमा अन्य धर्मका युवायुवती पनि रमाउने गरेका छन्। 

आजभन्दा २ हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रुसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्दैछन्। क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।क्रिसमसको रौनकसँगै रेस्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री तथा सान्टा क्लजको राता लुगाको पहिरनले सजिसजाउ छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि ठप्प बजार विस्तारै खुल्न थालेपछि क्रिसमसको माहोल तातेको छ ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिन थालिएको छ । यसैले आज देशभरका इसाई धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिइएको छ । हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ ।