संसद विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ, संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको खारेजी माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको आइतबार प्रतिनिधिसभा विघटनको घोषणा गरिएको छ । गएको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको मिति घोषणा गरेकी छन् ।

सर्वोच्चका अनुसार बुधबार ११ वटा रिटमाथि एकल इजलासमा सुनुवाइ हुनेछ । एउटा रिटका लागि संवैधानिक इजालास गठन गरी आउँदो शुक्रबारका लागि पेशी तोकिने छ ।

विघटन संवैधानिक व्यवस्था विपरित रहेको भन्दै संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा एक दर्जन रिट परेका छन् । ती रिटको बुधबार पहिलो पटक सुनुवाइ हुन लागेको हो । सर्वोच्च स्रोतका अनुसार यी रिटहरुमाथि बुधबार प्रारम्भिक सुनुवाइ सुरु हुने भएकाले एकल न्यायाधीशको इजलासमा पेशी तोकिने छ ।