विभाजित नेकपाको संसदीय दलको नेता बन्दै दाहाल

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) संसदीय दलको बैठक बोलाएको छ । हिजो (मंगलबार) केन्द्रिय कमिटीको बैठकमार्फत नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको हो ।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने तयारी रहेको जनाइएको छ । यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।प्रचण्ड–नेपाल पक्षीय सांसदहरुको सोमबार पनि बैठक बसेको थियो । उक्त बैठकमा ९० जना सांसदको उपस्थिति रहेको बताइएएको छ ।

हिजो (मंगलबार) बसेको नेकपाको वहुमत केन्द्रीय कमिटी बैठकले विभिन्न १० वटा महत्पूर्ण निर्णय गरेको छ । जसमा असंवैधानिक ढङ्गले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउनेदेखि कृष्णबहादुर महरालाई स्थायी समिति सदस्यमा चयनसम्मका निर्णय छन् ।४४१ सदस्सीय केन्द्रीय कमिटीमध्ये झण्डै दुई तिहाइ सदस्यको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।