बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति

काठमाडौं,  वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहींबाटै श्रम स्वीकृति लिन सक्ने छन् ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले बुधबारदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने जानकारी दिए ।

उनले भने, ‘अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था भएपछि म्याद सकियो भनेर श्रमका लागि मात्रै नेपाल आउनुपर्नेका लागि यो बाध्यता हटेको छ, जसले श्रमिक माथिको आर्थिक भार पनि कम गरेको छ ।’

वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाट बुझाउने कार्य सुरू भइसकेको छ । महानिर्देशक दाहालले यस व्यवस्थाका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तिर्न सकिने पनि जानकारी दिए । गोरखापत्र दैनिकबाट