बादल भेट्न विहानै पुल्चोक पुगे प्रचण्ड

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अलग–अलग केन्द्रीय कमिटी वैठक आह्वान भएकै दिन नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न उनको निवास पुल्चोक पुगेका छन् ।नेकपा औपचारिक रुपमा विभाजनको संघारमा उभिएका बेला नेता थापा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग र कार्यकारी अध्यक्ष प्रचण्ड कतैतिर पनि खुलेका छैनन् । हिजो पनि प्रचण्डले पुल्चोक पुगेर बादलसँग कुराकानी गरेका थिए ।

गृहमन्त्री बादल सोमबार बेलुका बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग एक घण्टा छलफल गरेका थिए । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि थापा सोमबार दुवै अध्यक्षले राखेका कुनै भेलामा सहभागी भएनन् ।यसैबीच हिजो गृहमन्त्री थापाले आफू निकट नेताहरुसँग पनि नेकपाको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका थिए । छलफलमा सबैजसो नेताहरुले ओलीको संसद विघटनको निर्णय असंवैधानिक भएको भन्दै यस्तो कदममा साथ नदिन सुझाव दिएका थिए ।

आफू निकट नेताहरुको सुझावपछि गृहमन्त्री बादलले अब बीचमा बसिरहने समय सकिएको भन्दै चाँडै नै किता क्लियर गर्ने बताएका थिए । प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज (मंगलबार) दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन् भने प्रधानमन्त्री ओली पक्षीय नेताहरु अहिले बिहान ९ बजे केन्द्रीय कमिटी बैठक राख्दै छन् । आजको समानन्तर केन्द्रीय कमिटी वैठकले एकले अर्कोलाई कारबाही गर्ने तयारी भइरहेको छ ।