ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा बादल अनुपस्थित

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन् । विहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक ढिलो गरी भर्खरै मात्र शुरु भएको हो । ओली पक्षका केन्द्रीय सदस्यहरुको वैठक शुरु भइसक्दा समेत गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै रहेको स्रोतले जानकारी दिएको छ ।

 बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए । मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए । नेकपा विभाजनको डिलमा पुगिसक्दा समेत गृहमन्त्रीले आफ्नो कित्ता क्लियर गरिसकेका छैनन ।

हिजो पुल्चोकमा भएको बादल निकटका नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदल असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै यस्तो कदमलाई साथ नदिन सुझाव दिएका थिए ।